झापा ३२ साउन
सरकारको निशुल्क उपचार कार्यक्रम अन्तरगत यसवर्ष झापाका ४१ जना दीर्घरोगीले निशुल्क उपचार सेवा पाएका छन् । कार्यक्रम अन्तरगत सरकारले उनीहरुलाई ५० हजार रुपैयाँसम्मको औषधोपचार निशुल्क उपलब्ध गराएको छ । आर्थिकरुपले विपन्नहरुका लागि स्वास्थ्य मन्त्रालयले गत चैतदेखि निःशुल्क उपचार कार्यक्रम लागू गरेको थियो । कार्यक्रम लमगू भएपछि झापाबाट ४१ जनाले उपचारका लागि सिफारिस लगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यक्रम लागू भएपछि झापाबाट मृगौलाका १८ क्यान्सरका १७ र मुटुरोगका छजनाले सिफारिस लिएको झापाका वरिष्ठ जनस्वास्थ्य प्रशासक नवराज सुब्बाले बताए । सिफारिस लिनेमध्ये १६ जना महिला र २५ जना पुरुष छन् । मृगौला रोगीमध्ये १३ पुरुष र पाँच महिला क्यान्सरमा १० पुरुष र सात महिला तथा मुटु रोगका लागि तीन-तीन महिला र पुरुषले सिफारिस लिएका छन् । जनस्वास्थ्यले गत चैत १९ गतेदेखि असार मसान्तभित्र पाँच वर्षदेखि ६२ वर्ष उमेरका ४१ जनालाई सिफारिस दिएको हो । सिफारिस पाउनेमध्ये अधिकांश क्षेत्री-ब्राह्मण समुदायका छन् । त्यस्तै जनजाति र आदिबासीबाट पाँच-पाँच जना छन् भने दलितबाट दुईजनाले उपचारका लागि सिफारिस लिएका छन् । सिफारिस लिनेमध्ये धेरैजसो शिक्षित तथा सहरी क्षेत्रका भएको सुब्बाले जानकारी दिए । उनले भने, धेरैजसो धेरैतिर जँचाएर खर्च भइसकेकाहरु छन् । थुप्रै स्वास्थ्य संस्था धाउँदाधाउँदा सास्ती पाएकाहरुले सिफारिस लिएको उनले बताए । सिफारिस लिएकाहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भरतपुर क्यान्सर अस्पताल चितवन त्रिभुवन शिक्षण अस्पताल वीर अस्पताल र प्रसूति गृह थापाथलीमार्फत् यस्तो सेवा लिएका छन् । स्वास्थ्य मन्त्रालयले विपिन्न दीर्घरोगीलाई सहयोग पुर्याउने हिसाबले गरेको यस्तो निर्णय मन्त्रिपरिषद् बैठकले गत फागुन पहिलो साता अनुमोदन गरेको थियो ।
No comments:
Post a Comment