Saturday, January 16, 2010

पूर्वमा सवारी दुर्घटना बढ्दो, दुई दिनमा १३ जनाको मृत्यु

सुब्रत न्यौपाने
झापा २ माघ
पूर्वमा दुई दिनयता भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । शुक्रबार र शनिबार भएका सवारी दुर्घटनामा उनीहरुको ज्यान गएको हो । शनिबार मोरङमा पाँचजना झापामा दुईजना र सप्तरीमा एकजनाको मृत्यु भएको छ । मोरङको डाँगीहाटस्थित लक्ष्मी मार्गमा शनिबार मध्यान्ह भएको दुर्घटनामा झापाका दुई युवकले ज्यान गुमाएका छन् । मयुर कला केन्द्रका कलाकर्मीद्वय नवराज सिटौला र सागर अधिकारीको मृत्यु भएको हो । मे १ प ६८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको उपचारका लागि धरान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई उनीहरु सवार सो मोटरसाइकल सडक किनारको खम्बामा ठोकिएको प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले बताए । यसअघि शुक्रबार राति मोरङको बेलबारीमा को १ ख १०१३ नम्बरको बस पल्टिँदा घाइते भएकामध्ये दुईजनाको शनिबार मृत्यु भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मोरङ बनिगामा-१ का मनोज भगत र गोपाल परियारको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सो दुर्घटनामा बनिगामा-५ का ३५ वर्षीय नेमनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ४० जना घाइते भएका थिए । घाइतेमध्ये छजनाको अवस्था चिन्ताजनक छ । दुर्घटनामा गम्भीर घाइते हुनेमा बनिगामा-१ का पुरन्दर साह बनिगामा-५ का शिवनारायण चौधरी मोरङ रामपुर-९ की सिरु चौधरी लगायत छन् । शनिबार झापाको सतासीधाम-१ स्थित डुँडामारीमा बा ३ प ८८७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङ केरौनकी तारा कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटनामा मोटरसाइकल चालक झापा शिवगाज-९ का अनन्त राजवंशी गम्भीर घाइते भएका छन् । यसअघि शुक्रबार झापाको तोपगाछीमा भएको दुर्घटनामा चारजनाले ज्यान गुमाएका थिए यसैगरी झापाको सुरुङ्गा खण्डमा शनिबार दिउँसो कार पल्टँदा चालकको ज्यान गएको छ । दुर्घटनामा कार चालक भारतीय नागरिक बालकृष्ण दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । झापाको माईधारमा लागेको माघे मेलाबाट फर्किदै गरेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा सो कार पल्टिएको हो । त्यस्तै सप्तरीको कडोरवनामा नाम नखुलेको सवारीसाधनको ठक्करबाट भारत लुदियानाका मोहमद सिकन्दरको मृत्यु भएको छ । उपचारका क्रममा सगरमाथा अाचल अस्पताल राजविराजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी शनिवार साँझ मोरङको दादरबैरिया- ९ मा बसको ठक्करले एकजनाको ज्यान गएको छ । रङ्गेलीबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ५७ नम्बरको बसको ठक्करबाट स्थानीय राधेश्याम राय यादव मृत्यु भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय यादवलाई बसले ठक्कर दिएपछि उपचारका लागि कोसी अाचल अस्पताल विराटनगर ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

अचानक इलाम बन्द

इलाम, माघ २ -
कार्यकर्ता रिहाईको माग गर्दै संघीय लिम्बुवान राज्य परिषद्ले शनिवारइलाम बन्द गरेपछि जनजीवन प्रभावित भएको छ । अकस्मत बन्द भएकाले यात्रुहरु समस्यामा परेका छन् । मेचीराजमार्गमा फाटफुटमात्र यातायातका साधन चलेका छन् । विहान पूर्वी फिक्कल बजारमा बन्द गराउन खोज्ने लिम्वुवान कार्यकर्तालाई शसस्त्र प्रहरीले हस्तक्षेप गरेको थियो । दुई दिन अघि झपाको सुनमाईवाट पक्राउ परेका कार्यकर्ता राज राई र प्रविण फागोको रिहाई र स्ववियु निर्वाचन ताका धुलावारी क्याम्पसमा मारिएका मनिल तामाङलाई सहिद घोषणाको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण सदरमुकाम, फिक्कल लगायतका बजार प्रभावित भएका छन् ।

Friday, January 15, 2010

अखिलद्वारा माओवादी भण्डारफोर अभियानको घोषणा

इलाम, माघ २
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले माओवादीका अराजक क्रियाकलापविरुद्व भण्डाफोर अभियानको घोषणा गरेको छ।
आफ्ना कार्यकर्तामाथि क्रान्तिकारी विद्यार्थी र वाईसीएलले लगातार आक्रमण गरी घाइते बनाउने गरेको र उग्रवामपन्थी क्रियाकलापबाट ग्रस्त भएर राष्ट्रका प्रमुख मुद्दाहरुलाई ओझेलमा पार्ने धृष्टता गरेको भन्दै अनेरास्ववियु भण्डाफोर अभियानमा लागेको हो। 'माओवादीको अराजक क्रियाकलापले संविधान निर्माण, शान्ति प्रक्रिया र लडाकु समायोजनका मुद्दा ओझेलमा परेका छन्', अभियानको घोषणा गर्दै संगठनका अध्यक्ष नवराज शंकरले भने, 'यसविरुद्व हामी भण्डाफोर गर्नेछौं।' दक्षिणपन्थी यथास्थितिवादका केही तत्वहरु मिलेर देशलाई पूरानै दिशातर्फ धकेल्ने प्रयास गरिरहेको भन्दै भण्डाफोर अभियान त्यसतर्फ पनि केन्द्रित हुने शंकरले बताएका छन्।भण्डाफोर अभियानसँगै अनेरास्ववियुले संविधान निर्माणका लागि ४५ दिने विद्यार्थी जागरण अभियान चलाउने भएको छ। संविधान निर्माणका लागि दबाब दिन जिल्लाका विद्यालयका विद्यार्थीलाई प्रशिक्षित गर्ने, जिल्ला प्रशासन कार्यालयमार्फत संपिधानसभामा ज्ञापन बुझाउने, अन्तरक्रिया गर्ने, मसाल जुलुश प्रदर्शन गर्ने लगायतका कार्यक्रम रहेका छन्।

कपिलवस्तु कारागारबाट ८ कैदी फरार

झापा २ माघ
कपिलवस्तु जिल्ला कारागारबाट शुक्रवार राति ८ जना कैदी सुरुङ खनेर भागेका छन्। हत्या, बलात्कार, हातहतियार तथा खरखजना मुद्दामा कारागारमा रहेका कैदीहरु अढाइ फिट चौडा र १० फिट लम्बाइको सुरुङ खनेर भागेका हुन्। भाग्नेहरुमा तराइमा सशस्त्र संघर्ष चलाइरहेका समूहका सदस्यहरु समेत छन्। सुरक्षा घेरालाई चुनौती दिँदै कैदी भागेपछि कपिलवस्तुका सुरक्षा अधिकारी शनिवार बिहानै कारागार निरीक्षणमा छन्।

दुर्घटनामा एकको मृत्यु

झापा १ माघ
मोरङको बेलबारीमा शुक्रवार साँझ साढे आठ बजे एउटा बस पल्टिदा एक जनाको मृत्यु भएको छ । ठेगाना नखुलेका सुन्दास परियारको मृत्यु भएको हो । घटनामा २० जना यात्रु घाइते भएका छन् । झापाको माइखोलामा सुर्य ग्रहण स्नान गर्न आएका यात्रुलाई लिएर फर्कने क्रममा को १ ख १०१३ नम्बरको बस पल्टिदा ती यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । अचानक अगाडीको चक्का पड्किदा बस पल्टिएको प्रहरी निरीक्षक दिलबहदुर सुबेदीले बताए । घाइतेमध्ये १४ जनाको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । चार जनाको अवस्था गंम्भीर रहेको प्रतिष्ठानले जनाएको छ । अन्य घाइतेको बेलबारीस्थित स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यसअघि शुक्रवार विहान झापाको केर्खामा भएको सवारी दुर्घटनामा एक बालकसहित चार जनाको मृत्यु भएको थियो ।

सरकारी लापरवाहीको एउटा नमुना

सुब्रत न्यौपाने
झापा १ माघ
सरकारी लापरवाहीका कारण झापाका एक दर्जन भन्दाबढी कृषि भवन अलपत्र परेका छन् । भवन निर्माणका लागि खर्चिएको करोडौको लगानी पनि वालुवामा पानी सरह भएको छ । २०४१ सालमा कृषकहरुलाई कृषि सम्बन्धी सल्लाह तथा परामर्श दिने उद्देश्यले सरकारले जिल्लाका विभिन्न गाविसमा कृषि भवन निर्माण गरेको थियो । निर्माणपछि प्रयोग भएको दुई महिना नवित्दै ती भवन अलपत्र परेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । कृषि तथा सहकारी मन्त्रालयले कर्मचारीको दरबन्दी र सेवाकेन्द्र कटौती गरेपछि वर्षाैदेखि ती भवन अलपत्र परेको कृषि कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेलले बताए । उनका अनुसार हाल झापाको हल्दिबारी राजगढ धरमपुर पृथ्वीनगर अनारमनी चारआली सुरुङ्गा चकचकी शिवगाज बुधबारे दमक गौरादह गौरीगाज लगायतका गाविसमा निर्माण गरिएका कृषि भवन संरक्षण अभावमा जीर्ण भइसकेका छन् । ती भवनमा गाई बस्तु ओत लाग्नुको साथै कतिपयले मदिरा बिक्रीस्थलका रुपमा प्रयोग गर्ने गरेका छन् । गौरादहमा रहेको भवनमा भने प्रहरी चौकी रहेको छ । जीर्ण भवनका विषयमा कृषि तथा सहकारी मन्त्रालय र कृषि विभागलाई पटक-पटक जानकारी गराइएको अधिकृत खरेलले बताए । ुद्वन्द्वका बेला जलाइएका भवन कृषि कार्यालयको बजेटबाट मर्मत गरिए पनि अन्य भवनहरु अहिलेसम्म मर्मत भएका छैनन, उनले भने, भवन आवास तथा सहरी विकास कार्यालयमा मर्मतका लागि पटक-पटक जानकारी गराउँदा पनि सुनुवाई भएन । जीर्ण अवस्थाका भवन प्रयोग गर्नु पर्दा जुनसुकै बेला खतराको स्थिति आउन सक्ने उनले जानकारी दिए । कृषि सेवा केन्द्रको अनारमनीस्थित भवनलाई क्वाटरुका रुपमा प्रयोग गर्दै आएका खरेल भवनका झ्याल-ढोका मकाइसकेको र इँटा खस्न थालेके बताउँछन् । कृषि कार्यालयका प्राविधिक दिनेश यादवका अनुसार साचालनमा रहेका सबै भवन काम चलाउको रुपमा मात्र रहेका छन् । हल्दिबारी गाविसका पूर्व अध्यक्ष मोहनचन्द्र रेग्मीले गाविसमा रहेको कृषि सेवा केन्द्रको भवन पुनर्निर्माणका लागि पटक-पटक माग गर्दा पनि सरकारी निकायले चासो नदेखाएको बताए । सो भवन मर्मत गरी प्रहरी चौकी राख्न आफूहरुले प्रयास गरे पनि कृषि मन्त्रालय अन्तर्गत मात्र उपयोग गर्न पाउने भएकाले प्रयोग गर्न नसकिएको उल्लेख गरे ।

दुर्घटनामा चारको मृत्यु

झापा १ माघ
झापाको तोपगाछी-७ स्थित सानोकेर्खामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक बालकसहित चारजनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुरका ३८ वर्षीय सूर्यबहादुर राय तेह्रथुमका महेन्द्र लिम्वु र उनकी श्रीमती धनकुमारी छन् । दुर्घटनामा विराटनगर घर भएकी कुमारी तामाङका डेढ वर्षीय छोरा सागरको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । विराटनगरबाट झापा आउँदै गरेको बा।५ च ६५४३ नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट गइरहेको ना।३ ख ९९९४ नम्बरको बस एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका राय भ्यान चालक हुन् । उनको घटनास्थलमै मृत्यु भएको थियो भने डेढ वर्षीय बालक तामाङ्को विर्तामोडस्थित काचनजङ्घा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक सबै झापाको सतासीधामस्थित कन्काइ माइमा मकर नुहाउन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरी निरीक्षक नवीन कार्कीले बताए । दुर्घटनामा गम्भीर घाइते भएकी विराटनगर- १६ की हेमकुमारी लिम्बु उनकी १२ वर्षीया छोरी झरना १४ बर्षीया सिवानी तामाङ छ बर्षिया आरती लिम्बु र पहिचान नखुलेकी एक महिलाको विराटनगरस्थित न्युरो आस्पतालमा उपचार भइरहेको छ । घटनामा घाइते विराटनगर- १६ की कुमारी तामाङको विर्तामोडस्थित काचनजङ्घा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबीच मोरङको सुन्दरपुरमा ट्रकले बसलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन् । पूर्व आउँदै गरेको ट्रक र पश्चिम जाँदै गरेको बस जुधेपछि सवारी रोकेर चालकहरु विवाद गर्न थालेकाले सडकमा रोकी राखेको बसलाई पुर्वबाट आएको अर्को ट्रकले ठक्कर दिँदा बसका यात्रु घाइते भएको प्रहरीले जनाएको छ । यस्र्तै धनकुटाको तांखुवा-९ फलैँचास्थित सिँधुवाबाट हिलेतर्फ आइरहेको को २ प ३४७८ नम्वरको।मोटरसाइकल विहीवारराती दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेको वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

वर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा व्यवसायीलाई ५० प्रतिशत अनुदान

सुब्रत न्यौपाने
झापा १ माघ
सरकारले झापाको वर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा व्यवसायीलाई ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने भएको छ । पशुसेवा विभाग अन्तरगतको एभिएन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाले व्यवसाय साचालनका लागि अनुदान दिने व्यवस्था गर्न लागेको हो । वर्डफ्लु रोग सङ्कट व्यवस्थापनका बेला मारिएका कुखुराको क्षतिपूर्तिका आधारमा व्यवसायीलाई सरकारले अनुदानको व्यवस्था गर्न लागेको आयोजनाका प्रमुख डा। इन्द्रनारायण झाले बताए । यसअघि सरकारले मारिएका कुखुराको क्षतिपूर्ति रकम उपलब्ध गराइसकेको छ । झापाको काँकरभिट्टामा गतवर्षको ३ माघमा नेपालमै पहिलोपटक पक्षीजन्य रोग बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । सो क्षेत्रमा देखिएको बर्डफ्लु नियन्त्रणमा आएको एक महिना नबित्दै ९ फागुनमा झापाको शरणामती- २ स्थित रुहीमारी क्षेत्रमा पनि वर्डफ्लु भेटिएको थियो । ती दुबै स्थानमा २९ हजार कुखुरा मारिएका थिए । वर्डफ्लु नियन्त्रणका क्रममा व्यवसायिक रुपमा पालिएका जति कुखुरा मारिए तिनको खरीदमा लाग्नमध्येको ५० प्रतिशत रकम आयोजनाले अनुदान दिन्छु झापाको मेचीनगरमा आयोजित मिडिया वि्रफिङ कार्यक्रममा उनले भने, यदि वोइलर कुखुरा पालनका लागि व्यवसायीले ऋण लिएको भए छ महिनासम्मको व्याज पनि मिनाहाको व्यवस्था गरिदिन्छौ । लेयर कुखुरा पालक किसानले भने बैकबाट ऋण लिएको भए एक वर्षसम्मको व्याज मिनाहा पाउने छन् । ग्रामीण कुखुरा पालक व्यवसायीका हकमा भने आयोजनाले ह्याचरीमार्फत चल्ला खरीद गर्दा लाग्ने रकममा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । आयोजनाका साचार अधिकृत डा। नवीन घिमिरेका अनुसार व्यवसायीलाई दिन लागिएको अनुदान सहयोगको रकम क्षेत्रीय पशु निर्देशनालयमार्फत निकासा गरिसकिएको छ । अनुदानका लागि ३१ लाख भन्दाबढी रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाले काठमाडौ उपत्यकासहित सहित भारतसँग सीमा जोडिएका २६ जिल्लामा वर्डफ्लुको जोखिम कायमै रहेको जनाएको छ । जोखिममा रहेका जिल्लामा जुनसुकैबेला वर्डफ्लु भेटिने भएकाले आवश्यक सतर्कता अपनाइएको आयोजना प्रमुख डा। झाले बताए । ुजोखिमपूर्ण सबै जिल्लामा रेपिड रेस्पोन्स टिम अहिले पनि तयारी अवस्थामा छ उनले भने २४ वटा क्वारेन्टाइन पेट्रोल टिम पनि गठन भइसकेका छन् । आयोजनाले केन्द्रीय प्रयोगशालालाई सुदृढ गर्न कार्यलाई पनि तीव्रता दिएको छ । केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालासहित देशभर रहेका आठवटा प्रयोगशालालाई वायो सेप्टी लेभल टु मा लैजाने तयारी भइरहेको छ । प्रयोगशाला सुदृढ भएपछि वर्डफ्लुको भए नभएको पुष्टि नेपालमै गर्न सकिन्छ । साचार अधिकृत घिमिरेका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड बमोजिम बर्डफ्लुको पुष्टि अस्ट्रेलिया र बेलायतको प्रयोगशालाबाट मात्रै हुने गर्छ ।