Thursday, August 20, 2009

बाढी-पहिरोमा १० को मृत्यु, हजारौ विस्थापित, करोडौको क्षति

सुब्रत न्यौपाने झापा ४ भदौ

अविरल वर्षापछि पूर्वमा बुधबार राति आएको बाढी र पहिरोमा १० जनाको मृत्यु भएको छ । झापा इलाम र सिराहाका नदीनालामा आएको बाढी पहिरोमा परी नौ बालबालिकासहित १० जनाको मृत्यु भएको हो । बाढीले मेची अाचलको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित झापाका दुई दर्जन गाविस जलमग्न भएका छन् । विरिङ खोलाको बाढीले बगाएर झापा घैलाडुब्बा-८ की अढाई वर्षीया सविना मुर्मु र घैलाडुब्वा-१ का ढलबहादुर पुलामीको मृत्यु भएको छ । घरैमा पसेको भेलले बगाउँदा मुर्मुको र काठ दाउरा झिक्ने क्रममा बाढीले बगाउँदा पुलामीको मृत्यु भएको हो । पुलामीका एकजना साथीले भने पौडेर ज्यान बचाएका छन् । पुलामी मृत्युको अनौपचारिक जानकारी भए पनि शव नभेटिएको विर्तामोड प्रहरीले जनाएको छ . रतुवा खोलाको भेल घरमा पस्ता दमक-१२ का छ महिने शिशु निश्चल तामाङको पनि ज्यान गएको छ । वर्षापछिको बाढीले इलाममा पहिरोले घर पुरिँदा चार जना बालबालिकाको मृत्यु भएको छ । दक्षिणी इलामको महमाई-९ का सविरमान राईको घर पुरिँदा उनका तीन वर्षीया छोरी लीला र छ महिने छोरा विपीनको ज्यान गएको हो । रातिको बाढीले बगाएका उनीहरु दुवै बिहीबार बिहान मृतावस्थामा फेला परेका थिए । झापासँग सीमा जोडिएको इलामकै अर्का गाविस इरौटार-८ मा पनि पहिरो जाँदा १२ वर्षीया फूलमाया र नौ वर्षीया अनिशा राईको मृत्यु भएको छ। घरमा रहेका अन्य तीन जनाले भने भागेर ज्यान जोगाएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जिल्लाका अन्य चार परिवार पहिरोले घरमा क्षति पुर् याएपछि विस्थापित भएका छन् । गोदक-७ का विपीन अधिकारी डिल्ली अधिकारी कोलबुङ-९ का हर्क राई र समालबुङको एउटा परिवार विस्थापित भएको हो । प्रहरी नायब उपरीक्षक विक्रम चन्दका अनुसार गरुवा खोलाले दानाबारीमा र चाँजो खोलाले चुलाचुलीमा खेतीयोग्य जमिन कटान गरिरहेको छ । त्यस्तै सिराहाको कमला नदीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सास्वर-२ का एकै उमेरका पाँच वर्षीय अफराज दथाली वकील दर्जी र काजीर दर्जी रहेका छन् । नदीमा नुहाउन गएका बेला डुबेर उनीहरुको मृत्यु भएको हो । बाढीले बगाएर झापामा मात्र आठजना बेपत्ता भएका छन् । बाढीमा परेर डाँगीबारी-३ मा चारजना र राजगढ गाविसमा थप चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । १२ घण्टासम्म निरन्तर परेको वर्षापछि अन्दुवा खोलामा आएको बाढीबाट विर्तामोड जलमग्न भएको छ । बाढीले खोला छेउका दर्जनौँ घर बगाएको छ । विर्तामोडबाट करिब पाँच किलोमिटर उत्तरमा रहेको बिरिङ नदीको भेल शनिश्चरे अर्जुनधारा हुँदै अन्दुवा खोलामा मिसिएपछि बुधबार रातिदेखि विर्तामोड सहर पुरै जलमग्न भएको हो । सहरको मुख्य भाग भएर बग्ने अन्दुवा खोलाले किनारमा रहेका सयौँ कच्ची र चारवटा पक्की घर बगाएको छ । सडक किनारका अनगिन्ती घुम्तीपसल क्षतिग्रस्त भएका छन् । आफ्नै घर परिसरमा राखेका दर्जनौँ सवारीका साधन बाढीले बगाएको छ । बाढी पसेपछि रातभर विर्तामोडको जनजीवन आतङ्कित भएको थियो । सहरका अधिकाङ्श घरमा नौ फुटसम्म पानी जमेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । सहरकॊ पश्चिम रहेको अन्दुवा खोला उर्लिएर सहरभरि बाढी पसेपछि अधिकांश बासिन्दाले अनिँदै रात काटेका थिए । बाढीले अतिथि सदन अग्रसेन भवनलगायतका सार्वजनिक सम्पत्तिमा लाखौँको क्षति गरेको प्रहरी निरीक्षक अभिचन्द्र रिजालले बताए । उनका अनुसार विर्तामोडका व्यवसायीका गोदाममा बाढी पसेपछि उनीहरुले करोडौँको क्षति व्यहोर्नु परेको छ । क्षतिको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन । बाढीले अनगिन्ती चौपाया बगाएको छ । अन्दुवा खोला दुई धार भएर बगेको थियो । बिहीबार अपरान्हसम्म पनि विर्तामोड पश्चिमतर्फको अधिकांश स्थान जलमग्न थियो । झापाका २४ गाविस बाढीबाट प्रभावित बनेका छन् । बिरिङ कनकाई निन्दा रतुवा टिमाईलगायतका नदीमा आएको बाढीबाट कोहबरा राजगढ महाभारा खुदुनाबारी गरामनी दुहागढी चन्द्रगढी सतासीधाम बुधबारे शरणामति कुमरखोद टाघनडुब्बा सुरुङ्गा पाँचगाछी शिवगाज अर्जुनधारा बाहुनडाँगी गाविस प्रभावित भएका छन् । मेचीनगर र भद्रपुर नगरपालिका पनि प्रभावित क्षेत्रको सूचीमा छन् । बुधबार रातिको बाढीका कारण झापामा एक हजार छ सय ४७ घरपरिवार विस्थापित भएका छन्। विस्थापितहरु छिमेकी आफन्त गाविस र विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । बाढीबाट छ हजार दुई सय घर परिवार प्रभावित भएको रेडक्रस सोसाइटी झापाका मन्त्री लोकराज ढकालले बताए । जिल्लाका विभिन्न स्थानमा बाढीबाट चार सयभन्दा बढी घर क्षतिग्रस्त भएको उनले जानकारी दिए । यसअघि तीन सातायता झापाका विभिन्न नदीमा आएको बाढीले एक सय ९३ घर परिवार पूर्णरुपले विस्थापित भएका थिए । विर्तामोडबाहेक बिरिङ नदीको बाढीले घैलाडुब्बा गाविसको ५ ६ र ७ नम्बर वडा पूर्णरुपले जलमग्न भएको छ । त्यहाँका करिब दुई सय परिवार विस्थापित भएका छन् भने छिमेकी डाँगीबारी गाविस पनि बाढीको चपेटामा छ । त्यहाँका दुई सय बढी घर परिवार विस्थापित भएका छन् । चकचकी गाविसमा बिरिङ नदीको बाढी पसेको छ भने ज्यामिरगढीमा निन्दाले थप विनास गरेको छ । चकचकीमा तीन सय र ज्यामिरगढीमा दुई सय परिवार बाढीबाट विस्थापित भएको प्रारम्भिक अनुमान छ । दुहागढी-४ मा फुलबासा खोलाले २५ घर बगाएको छ । थप ४० घर विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय सहिद दशरथचन्द उच्च माध्यमिक विद्यालयमा राखिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि जनपथ सशस्त्र र नेपाली सेनालाई परिचालित गरिए पनि कतिपय स्थानमा अबेरसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् । रातभरि बाढीको विनासपछि बिहीबार सबेरै जिल्ला प्रशासन कार्यालय जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेको थियो । रेडक्रसकर्मी सभासद् राजनीतिक दलका प्रमुख कार्यालय प्रमुख सम्मिलित बैठकले बाढीबाट उत्पन्न परिस्थितिको समीक्षा गर्दै स्थलगत अनुगमनका लागि चारवटा टोली बनाई प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ । साँझसम्ममा स्थलगत रिपोर्ट सङ्कलन गरी राहत तथा उद्धारका कामलाई तीव्रता दिने झापाका निमित्त प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले बताए । प्रशासनले तत्कालै प्रभावित १४ स्थानमा जनपथ र सशस्त्र तथा पाँच प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनालाई परिचालन गरेको जनाएको छ । बाढीले खानेपानीको पाइप बगाउँदा बुधबार दिनभर चारपाने अनारमनी तथा शनिश्चरे र अर्जुनधाराका केही भागमा पिउने पानीको अभाव रह्यो । खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अनुसार विर्तामोड क्षेत्रमा वितरित खानेपानीको पाइप पाँच ठाउँमा बगाउँदा बुधबार बिहान २ बजेदेखि पानी वितरण ठप्प भएको थियो । समितिका सचिव जलकुमार गुरुङका अनुसार बाढीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । उता विरिङ्ग खोला गाउँ पस्दा खुदुनाबारी-१ स्थित साधुटारका राजकुमार थापाको घर बाढीले बगाएको छ । त्यस्तै बाह्रदशी खोलामा आएको बाढीले अर्जुनधारा र शनिश्चरे जोड्ने २० फिट कालोपत्रे सडक बगाएर क्षति पुर् याएको छ । बाढीले अर्जुनधारा गाविस र शनिश्चरेको सुकुम्बासी टोल जोड्ने कच्ची सडक पनि बगाएको छ । त्यस्तै रातेखाल जाने पक्की पुल र बिरिङ पुलमा पनि बाढीले क्षति पुर् याएपछि जोखिममा पुगेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।यसैबीच पहिरो जाने खतरा बढेपछि सङ्खुवासभाको वाला गाविसका ५६ घरपरिवार सम्पर्कविहीन भएका छन् । वाला-९ वेतिनीका स्थानीय बासिन्दाहरु पहिरोको भयले नजिकै रहेको जङ्गल र ओढारमा गएको अनुमान गरिएको छ । उनीहरु ताम्कु गाविसको सिमानामा रहेको झोलङ्गे पुल बगाएपछि सम्पर्क बाहिर रहेका छन् । उद्धारका लागि प्रहरी प्रभावित क्षेत्रमा जान सकेको छैन । सुनसरीको टेङ्ग्रा खोलामा आएको बाढीले सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका दुई दर्जनभन्दा बढी उद्योग तथा कलकारखाना प्रभावित भएका छन् । बाढी प्रगति टेक्सटायल अरिहन्त मल्टिफाइवस्र लिमिटेड बालाजी बिस्कुटलगायतका उद्योगमा पसेको प्रहरीले जनाएको छ । यसैबीच लोहन्द्रा खोलामा आएको बाढीका कारण बिहीबार मोरङको कटहरीमा ५० घर डुबानमा परेका छन् । बाढीले कटहरी-९ का सम्पूर्ण बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । त्यस्तै राते होलीमा आएको बाढीले राजघाट-३ को एकदर्जन घर डुबानमा परेका छन् । सो होलीमा आएको बाढीले स्थानीय बासिन्दाले पालेका पाँचवटा सुगुँरको पाठा-पाठी र पोखरीको माछा समेत बगाएको पीडित राजकुमार थापाले बताए । त्यस्तै मावा खोलामा आएको बाढीले उर्लाबारी-४ दुर्गाटोलका करिब एक सय ५० घर डुबानमा परेका छन् ।

No comments:

Post a Comment