Thursday, August 20, 2009

सिलिगुढीबाट अपहरणकारी पक्राउ

लक्ष्मी उप्रेती
काँकरभिट्टा, 4 भदौ ।
सुनसरीको धरानबाट चार दिनअघि अपहरणमा परेका बालकलाई मङ्गलबार राति भारतको सिलिगुढीबाट प्रहरीले मुक्त गरेको छ ।
भारतीय प्रहरीको सहयोगमा धरान र काँकरभिट्टा प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएका प्रहरीको टोलीले धरान-१५ का बालक प्रणय गुरुङलाई अपहरण मुक्त गराएको हो । बालकलाई सिलगुढीस्थित हाउडा पेट्रोल पम्प नजिक एक होटलबाट अपहरण मुक्त गराइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक लालगोविन्द श्रेष्ठले बताए । चार वषर्ीय गुरुङलाई उनकै घरमा डेरा गरी बस्ने भारतको दार्जीलिङ घर भएका सन्नि प्रधानले चार दिनअघि अपहरण गरेका थिए । विभिन्न शैक्षिक प्रतिष्ठानको नाममा विद्यालयको पाठ्यसामग्री बिक्री गर्दै हिँडेका प्रधानले प्रणयलाई स्वीमिङ लैजाने भन्दै लिएर हिँडेका थिए । अष्ट्रेलियामा रहेका बालकका बाबुले तत्कालै फोन गरी छोरा खोजेपछि आमाले तुरुन्तै प्रणयलाई लिएर आउन प्रधानलाई फोन गरेकी थिइन् । तर, प्रधानले बच्चा अपहरणमा परेको जनाउँदै एक करोड रुपैयाँ लिएर दार्जीलिङमोड आउन भनेका थिए । गुरुङ परिवारले ५० लाख रुपैयाँ दिने सहमति जनाएको थियो । त्यसलगत्तै आमाले प्रहरीमा खबर गरेकी थिइन् । प्रधानकै माग अनुरुप फिरौती रकम लिएर गुरुङ परिवार प्रहरीसहित मङ्गलबार भारतको सिलिगुढीस्थित दार्जीलिङमोड पुगेको थियो ।
सुरुमा प्रधानले पैसा दिए मात्र बच्चा फिर्ता दिने बताएका थिए । तर, आमाले नमानेपछि केहीबेर विवाद भएको थियो । विवादकै क्रममा पुगेको प्रहरी टोलीले अपहरणमा संलग्न प्रधानलाई पक्राउ गरेको हो । पक्राउ परेपछि पनि उनले बच्चा आफूले अपहरण नगरेको दाबी गर्दै नेपालमै रहेको बताएका थिए । तर, प्रहरीले इनामस्वरुप प्रधानलाई एक लाख रुपैयाँ दिने भनेपछि उनले फोन गरेर बच्चा झिकाएका हुन् । पक्राउ परेका सन्निलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार उनलाई सिलिगुढी अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment