Saturday, July 10, 2010

झापा कारागार धरापमा

सुब्रत न्यौपाने
झापा २५ असार
चारदशक पुरानो झापा कारागारकॊ छतबाट पानी चुहिन थालेको छ । कारागार भवन मर्मत गर्ने सरकारी योजना नहुँदा कैदीबन्दी रुष्ट छन् । कारागारभित्रको साँघुरो र अव्यवस्थित बसाइ उनीहरुका लागि झन् ठूलो यातना भएको छ । पानी परेपछि खुला आकाशमाझै कैदीबन्दी प्लाष्टिक ओढेर दिनरात विताउँछन् । मर्मत अभावमा कारागारको भवन चुहिन थालेको चार वर्षृ वितेको छ । अघिल्ला वर्षको तुलनामा गतवर्ष कैदीबन्दीले निकै ठूलो कष्ट व्यहोरेका थिए । यसवर्ष पनि कैदीबन्दीले उही नियति भोगिरहेका छन् । पानी पर्न थालेपछि कारागारको छत चुहिने भएकाले पालो गरेर सुत्नुपर्ने बाध्यता रहेको चौकीदार अमित राईले बताए । साँघुरो ठाउँको बसाइ छ पानी चुहिएपछि झन् विजोग हुन्छु उनले भने,पानी पर्न थालेपछि निदाउन समेत पाइँदैन । कारागारको छत धराप भएका कारण त्यहाँ कैदीबन्दीलाई चढ्न प्रतिबन्ध लगाइएको छ । उप्रुदा र हिँडडुल गर्दा छत खस्न सक्ने भएकाले प्रतिबन्ध लगाइएको कारागार प्रमुख दिनानाथ लम्सालले बताए । सम्भावित दुर्घटनाबाट बच्ने यो एउटा उपाय पनि हो, उनले भने,जुनसुकै बेला कारागारको छत खस्न सक्छ । २०२० सालमा सो कारागार भवन निर्माण गरिएको थियो । निर्माणपछि सरकारले सामान्य मर्मतबाहेक केही गर्न सकेको छैन । भवन मर्मतमा सरकारले बजेट नपठाउने भएकाले काम चलाउ गर्नु परेको कारागार प्रमुख लम्सालले बताए । कारागार भवन निर्माण गर्दा कैदीबन्दीलाई अर्को ठाउँमा पुनःस्थापित गर्नुपर्ने बताउँदै उनले भने,अर्को भवन नबनाइ यसको पुनर्निर्माण सम्भव छैन । चार वर्षअघि आन्तरिक विवादका क्रममा कैदीबन्दीले कारागारमा आगजनी गरेपछि पुरानो भवन झन् जीर्ण बनेको हो । त्यसयता कारागारमा निरन्तर पानी चुहिने गरेको छ । सो आगजनीपछि सहरी विकास तथा भवन निर्माण विभागले जुनसुकै बेला कारागारको छत खस्न सक्ने भन्दै कैदीबन्दी बस्न उपयुक्त नभएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर त्यसमा सरकारले चासो दिएको छैन । कारागारको बसाइ साँच्चिकै यातना जस्तो भएको छु चौकीदार राईले भने , छत खस्यो भने सबै कैदीबन्दी एकै चिहान हुन्छन् । उनले क्षमता भन्दा बढी कैदीबन्दीका कारण बसाई झन् कष्टकर भएको बताए । हाल झापा कारागारमा तीनसय ९६ कैदीबन्दी छन् । महिला मात्रै २२ जना छन् । उनीहरुमा आश्रित दुई नावालक पनि कारागारमै छन् । तर कारागारको क्षमता दुई सय मात्रै हो । साँघुरो बसाईले कैदीबन्दीबीचमा नियमितजसो तनाव पनि हुने गरेको छ । पालो पर्खनु पर्ने भएकाले कहिलेकाहीँ उनीहरुबीच कुटाकुट पनि हुने गरेको छ । क्षमता भन्दा बढी कैदीबन्दीको समस्या पुरानो भए पनि सरकारले समाधानका लागि पहल नगरेको कारागार प्रमुख लम्साल बताउँछन् । राज्यले कारागारलाई सुधार गृहका रुपमा विकास गर्ने भने पनि त्यो यातना गृह भन्दा फरक नभएको इन्सेक प्रतिनिधि अर्जुन बस्नेतले बताए । कारागार सुधारका लागि विगतमा बनाइएका आयोगले दिएका प्रतिवेदन कार्यान्वयन नभएकालॆ समस्या समाधान हुन नसकेको हो,उनले भने, प्रतिवेदन कार्यान्वयन भए कैदीबन्दीले राहत महसुस गर्थे । मानवअधिकार लगायत न्यूनतम मापदण्ड अनुसारका पूर्वाधारहरु तयार गरी कारागारलाई सुधारगृहको रुपमा साचालन गर्न २०४७ सालमा बनेको कारागार सुधार समितिको प्रतिवेदनले कारागारमा बढी बन्दीको समस्या औँल्याएको थियो । प्रतिवेदनमा बन्दीहरुको शारीरिक मनोवैज्ञानिक तथा स्वास्थ्य अवस्थामा असर परेको उल्लेख थियो । तर त्यो प्रतिवेदन आएको दुई दशक भएपनि कारागारको समस्या समाधान भएको छैन । कारागारसम्बन्धी अन्य आयोगका प्रतिवेदन पनि त्यत्तिकै थन्किएका छन् ।

No comments:

Post a Comment