Saturday, March 31, 2012

झापा इलाम सिमावर्ती क्षेत्रमा काठ तस्करी तीव्र


 सुब्रत न्यौपाने 
  झापा १६ चैत
   झापा र दक्षिणी इलामका सामुदायिक वनमा काठ तस्करी तीव्र भएको छ । वन पदाधिकारीको मिलेमतोमा ती क्षेत्रका सामुदायिक वनबाट दैनिक रुपमा काठ तस्करी हुने गरेको हो ।
  सिमावर्ती जिल्लाका वन क्षेत्रबाट भइरहेको काठ तस्करी नियन्त्रणका लागि प्रयास गरिए पनि तस्करीमा संलग्नले रातारात काठ निकासी गर्दै आएका छन् । तस्करलाई पक्राउ गर्न र तस्करीको काठ बरामद गर्न वन गस्ती टोलीलाई  भ्याईनभ्याई भएको  वन कार्यालय झापाले जनाएको छ । जिल्ला वन प्रमुख विष्णुप्रसाद भण्डारीले एक महिनायता दैनिक रुपमा ठूलो परिमाणमा काठ बरामद गर्नुका साथै तस्करीमा संलग्न डेढ दर्जन व्यक्तिलाई पक्राउ गरिएको बताए । काठ ओसार्न प्रयोग गरिएका आधा दर्जन सवारी पनि नियन्त्रणमा लिइएको छ ।
  तस्करीमा संगठित समूह सकि्रय  उनले भने , प्रहरीको सहयोग लिएर तस्करीको साजाल तोड्ने प्रयासमा छौँ । तस्करले दक्षिणी इलामका सामुदायिक वनबाट अम्लिसो लोड गरिएका गाडीमा पनि काठ ओसार्ने गरेको रेाजर देवेन्द्र उप्रेती बताउँछन् । ग १ च ३२१३ नम्वरको पिकअप गाडीमा अम्लिसोले छोपेर ल्याएको अवस्थामा दुई साताअघि सखुवाको काठ बरामद भएको थियो । एक महिनामा झापाबाट मात्रै एक हजार क्युफिट भन्दा बढी काठ बरामद भएको छ । इलामका दक्षिणी वनमा तस्करीको अवस्था झन् भयावह छ ।
  तस्करीमा संलग्नले इलामको काठ झापाका विभिन्न स्थानमा लुकाएर राख्ने गरेको पाइएको वन प्रमुख भण्डारीले बताए । यसैसाता इलामबाट ल्याएर लुकाएर राखिएको अवस्थामा चारसय क्युफिट सखुवाको काठ झापाको शान्तिनगरबाट बरामद गरिएको थियो । १५ चैतमा मात्रै झापा र इलामको संयुक्त वन गस्ती टोलीले दक्षिणी इलामको कोल्वुङबाट ७९ थान सखुवाका गोलिया र ३० थान चिरान काठ बरामद गरेको रेाजर उप्रेतीले जानकारी दिए । सशस्त्र प्रहरीको सहयोगमा गजुरमुखी इलाका वन कार्यालय इलाम र सुरुङ्गा इलाका वन कार्यालय झापाको टोलीले स्थानीय जनज्योति सामुदायिक वन क्षेत्रबाट सो काठ बरामद गरेको हो ।
 काठसँगै वन समूहका सचिव पदम तामाङ पनि पक्राउ परेका छन् । अवैध ढंगले सालको काठ कटान तथा विक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् । सालको काठ कटान तथा निकासीमा सरकारले प्रतिवन्ध लगाएपछि काठ तस्करीमा वन पदाधिकारीको मिलेमतो देखिन थालेको हो । वन समूहका अध्यक्ष खेम तामाङको पनि घटनामा संलग्नता देखिएको छ । काठ तस्करीमा संलग्न दक्षिणी इलामको इरौटारस्थित देवानछाप सामुदायिक वनका ११ पदाधिकारी थुनामा छन् ।
  अदालतले मागेको धरौटी बुझाउन नसकेपछि यसैसाता उनीहरुलाई कारागार चलान गरिएको हो । फागुन १४ गते पक्राउ परेका २२ जनालाई अदालतले जनही १५ लाख २६ हजार दुई सय ८० रुपैयाँ धरौटी मागेको थियो । ११ जना धरौटी बुझाएर छुटेको इलामका वन प्रमुख इमामुद्दीन अन्सारीले बताए । उनीहरुलाई नौ सय ४८ क्युफिट काठसहित जिल्ला वन कार्यालय इलामको टोलीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

No comments:

Post a Comment