Sunday, May 29, 2011

बढ्यो चिया निर्यात

झापा, 16 जेठ :
   नेपाली चियाको निर्यातमा वृद्धि भएको छ । विगत दुई वर्षदेखि निरन्तर ओरालो लागेको चियाको निर्यात मौसम अनुकूल भएपछि बढेको हो । अनुकूल मौसमको कारण चियाको बढ्दो उत्पादनसँगै निकासीमा पनि सुधार आएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । किसान र मजदुर आन्दोलनले तयारी चियाको अन्तर्राष्ट्रिय निकासीमा प्रभाव पर्ने अनुमान गरिए पनि चालू आर्थिक वर्षको १० महिनामा अघिल्ला वर्षको भन्दा बढी परिमाणमा चिया निकासी भएको छ । आर्थिक वर्ष ०६७/०६८ को १० महिनामा अघिल्लोे वर्षको तुलनामा सिटिसी चियाको निकासी करिब ४० प्रतिशतले वृद्धि भएको मेची भन्सारले बताएको छ ।
साउनदेखि वैशाखसम्ममा पूर्वीनाका हुँदै ७५ लाख ९४ हजार सात सय ३८ केजी चिया निर्यात भएको भन्सार प्रमुख उमेशकुमार बस्नेत बताउँछन् । त्यसबापत नेपालले एक अर्ब २५ करोड २५ लाख सात हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष ०६६/०६७ मा भने ५९ लाख १८ हजार ६ सय ७० केजी चिया निकासी भएको थियो । त्यसको मूल्य ८१ करोड ६७ लाख १० हजार रुपैयाँ रहेको भन्सारको ठहर छ ।
आर्थिक वर्ष ०६४/६५ मा पूर्वीनाका हुँदै ८९ करोड ७१ लाख १५ हजार मूल्यबराबरको ९३ लाख ४५ हजार तीन सय चार किलो तयारी चिया भारत निर्यात भएको थियो । तर, त्यसयताका दुई वर्षमा चियाको निकासी बढ्न सकेको थिएन ।
आव ०६५/६६ मा ९० लाख ९७ हजार सात सय ७४ किलो चिया निकासी भएको थियो । परिमाण घटे पनि अघिल्लो वर्षको तुलनामा त्यतिखेर चियाले राम्रै बजार पाएको चिया निकासीकर्ताहरू बताउँछन् । त्यतिखेर चिया निर्यातबाट एक अर्ब १८ करोड दुई लाख ८२ हजार रुपैयाँ नेपाल भित्रिएको थियो । अन्तर्राष्ट्रिय बजारमा लगातार तयारी चियाको मूल्य बढे पनि मागअनुसार निर्यात गर्न नसकिएको झापाको भद्रपुरस्थित मोर्डन टी इन्डष्ट्रिजका सञ्चालक विश्वनाथ श्रेष्ठले बताए । नेपाली सिटिसी र अर्थाेडक्स चिया भारतमा धेरै निकासी हुने गरेको भए पनि पाकिस्तान, जर्मनी, रसियालगायतका मुलुकमा समेत नेपाली चियाको माग बढ्दो अवस्थामा छ ।
पूर्वीनेपालका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा १६ हजार चार सय २० हेक्टर क्षेत्रफलमा चियाखेती लगाइएको छ । यसबाट वाषिर्क सरदर १५ हजार एक सय ६८ मेटि्रक टन अर्थात् एक करोड ५१ लाख ६८ हजार किलो तयारी चिया उत्पादन हुन्छ । त्यसमा अर्थाेडक्सको उत्पादन एक हजार नौ सय ७७ मेटि्रक टन रहेको छ । अर्थाेडक्स चियाको मुख्य बजार जर्मनी हो । उत्पादनको ९० प्रतिशत अर्थाेडक्स चिया जर्मनी निर्यात हुने गरेको छ । मौसम अनुकूल भए एक हेक्टरमा कम्तीमा १६ हजार किलो हरियो पत्ती उत्पादन हुन्छ ।

No comments:

Post a Comment